काठमाडौँ, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुासर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।