काठमाडौं, १६ असार । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको शतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हकप्रद प्रयोजनार्थको लागि जेठ ५ गते बुकक्लोज गरेको थियो । जसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै सो हकप्रद शेयरमा .आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।