सञ्चित खाता रित्तिएपछि लुम्बिनी प्रदेशले रोक्यो भुक्तानी

अनलाइनसमय |
१७ असार २०८२
सञ्चित खाता रित्तिएपछि लुम्बिनी प्रदेशले रोक्यो भुक्तानी

काठमडाौं, १७ असार । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी छँदै सञ्चित कोषमा रकम सकिएपछि भुक्तानी रोकेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार राती १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का गरेको हो ।

घाटा बजेट ल्याएका कारण प्रदेश सरकारले गत वर्ष पनि असार २२ गतेपछि भुक्तानी रोकेको थियो । गत वर्षको २ अर्ब १९ करोड रकम चालू आवमा भुक्तानी गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सुमन पौडेलले आइतबार प्रदेश कोष लेखा नियन्त्रण कार्यालयलाई पठाएको पत्रमा कर्मचारीहरूको तलब भत्ता, नेपाल सरकार सशर्त, विशेष र समपुरक अनुदान स्रोतबाट खर्च हुने रकम, नेपाल सरकार समपूरक अनुदानमा सञ्चालित आयोजनामा प्रदेश सरकार वित्तीय समानीकरण अनुदान स्रोतबाट बहन गर्नुपर्ने बापतको रकम, नेपाल सरकार सशर्त अनुदान अन्तर्गत वैदेशिक स्रोतबाट सञ्चालित आयोजनामा प्रदेश सरकार स्रोत समानीकरण अनुदानबाट बहन गर्नुपर्ने बापतको रकम र स्थानीय तहलाई गरिने वित्त हस्तान्तरणको रकम बाहेकको सबै भुक्तानी रोक्न निर्देशन गरिएको छ ।

त्यस्तै, प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकम र अन्य शीर्षकमा खर्च गर्न अति जरूरी परेमा कारण खुलाइ आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति लिएर मात्र खर्च तथा निकासा गर्न निर्देशन दिइएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले चालू आवमा पनि घाटा बजेट भएकै कारण खातामा रकम सकिएपछि भुक्तानी रोकिएको जानकारी दिए

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आइतबारसम्म पुँजीगततर्फ झन्डै ७० प्रतिशत बजेट खर्च भएको छ ।
प्रदेश सरकारले चालू आवका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो, जसमध्ये पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएकोमा आइतबारसम्म १७ अर्ब २९ करोड मात्रै खर्च भएको छ । त्यस्तै, चालूगत खर्चतर्फ ११ अर्ब २४ करोड रुपैयाँ बजेट छुट्याइएकोमा ७ अर्ब ४ करोड मात्रै खर्च भएको छ । स्थानीय तहमा जाने ३ अर्ब १४ करोडमध्ये २ अर्ब ४१ करोड भुक्तानी भएको छ ।

सञ्चित कोष रित्तिएर खाता रोक्का भएपछि प्रदेशमा सञ्चालित योजनाहरु सबैभन्दा बढी प्रभावित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस