काठमाडौं, १७ असार । एसीसी म्यान्स यू–१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियामा जारी यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो ।
नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो ।
नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चेर ४ विकेट लिए । सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन जोड्दै २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट लिए ।
भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए भने उगेन केल्जाङले १० रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो ।
नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन जोडे ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।
समूह ए मा रहेको नेपाल एसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । टोली हालसम्म प्रतियोगितामा अपराजित छ ।
नेपालले ४ खेलमा ८ अंक बटुलेको छ भने सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक बटुलेको छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल अब सेमिफाइनलमा समूह बीको दोस्रो स्थानमा रहेको मलेसियासँग खेल्नेछ ।