नाउपाले समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गरायो, आजै राज्यमन्त्रीले राजीनामा बुझाउने

अनलाइनसमय |
२२ असार २०८२
नाउपाले समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गरायो, आजै राज्यमन्त्रीले राजीनामा बुझाउने

काठमाडौं, २२ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको जानकारी देवराज घिमिरेलाई गराएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको बताइन् ।

नाउपाबाट सरकारमा सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउने श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार अहिले प्रधानमन्त्री ओली हुम्ला गएकोले काठमाडौं फर्केपछि आजै अपराह्न ४ बजे भेटवार्ताको समय लिइएको छ ।

नाउपाले शनिबार संसदीय दल बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो ।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ ।

संविधानको धारा १०० को उपधारा २ मा, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस