काठमाडौं, २३ असार । रुसले युक्रेनमाथि मिसाइल र ड्रोन प्रयोग गरेर आक्रमण तीव्र पारेको छ । गत हप्ताको अन्त्यमा रुसले एकै रातमा ५५० मिसाइल र ड्रोन प्रक्षेपण गरी हालसम्मकै ठूलो आक्रमण गरेको थियो । अब यो संख्या दैनिक एक हजारसम्म पुग्ने खतरा देखिएको द टेलीग्राफले जनाएको छ ।
युक्रेनी लफ्टिनेन्ट कर्नेल म्याक्सिम उस्टिमेन्कोले आफ्नो एफ–१६ विमानबाट लगातार ६ वटा रुसी ड्रोन खसालेका थिए, तर सातौँ ड्रोनले उनको विमानमा ठोक्कियो । उनले भीडभाड क्षेत्रमा दुर्घटना हुन नदिन खेततर्फ विमान मोडे । युक्रेनको वायु सेनाले उनलाई ‘नायक’ भनेको छ ।
पछिल्लो केही दिनमा मात्रै रुसले ४७७ वटा ड्रोन (जसमा धेरैजसो इरानी बनावटको ‘शाहेद’ ड्रोन छन्) र ६० वटा मिसाइल प्रक्षेपण गरिसकेको छ ।
रुसले आफ्नो मिसाइल उत्पादन केन्द्रलाई विस्तार गर्दै सप्लाई चेनलाई तीव्र गतिमा बढाइरहेको द टेलीग्राफले उल्लेख गरेको छ । भोटकिन्स्क सहरमा रहेको मिसाइल कारखाना विस्तार गरेपछि अब रुसले एकै रातमा एक हजार मिसाइल र ड्रोन युक्रेनी सहरहरूमा प्रहार गर्न सक्छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगातार आक्रमणमार्फत युक्रेनी जनताको मनोबल कमजोर पार्ने, कीभको रक्षा प्रणाली थकाउने र पश्चिमी देशहरूलाई सहयोग घटाउने मनसाय राखेको बताइएको छ । सैनिक विश्लेषक माइकल कोफम्यानका अनुसार रुसले जनघनत्व भएका क्षेत्रहरू लक्षित गरिरहेको छ ।