ट्रम्पको चेतावनी : ब्रिक्स नीतिलाई समर्थन गर्ने मुलुकलाई थप १० प्रतिशत भन्सार महसुल

अनलाइनसमय |
२३ असार २०८२
ट्रम्पको चेतावनी : ब्रिक्स नीतिलाई समर्थन गर्ने मुलुकलाई थप १० प्रतिशत भन्सार महसुल

काठमाडौं, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहको ‘अमेरिकाविरोधी’ नीतिहरूमा साथ दिने देशमाथि थप १० प्रतिशत भन्सार महसुल लगाइने चेतावनी दिएका छन् । उनले सोमबारदेखि संसारभरका दर्जनौं देशलाई भन्सार सम्बन्धी पत्र पठाइने घोषणा गरेका हुन् ।

‘ब्रिक्स समूहको अमेरिकाविरोधी नीतिमा संलग्न जुनसुकै देशमाथि १० प्रतिशत अतिरिक्त महसुल लगाइनेछ, र यसमा कुनै छुट दिइने छैन,’ ट्रम्पले आइतबार ट्रुथ सोसमा लेखेका छन् ।

ब्रिक्स समूह (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)ले हालै इजिप्ट, इथियोपिया, इन्डोनेशिया, इरान र संयुक्त अरब इमिरेट्सलाई सदस्य बनाइसकेको सीएनएनले जनाएको छ । साथै बेलारुस, नाइजेरिया, थाइल्याण्ड र भियतनाम जस्ता १० अन्य साझेदार मुलुकहरू पनि समूहसँग आबद्ध छन् । यद्यपि साउदी अरेबियाले समूहको सदस्यता स्वीकार गरेको वा नगरेको स्पष्ट भएको छैन ।

ब्राजिलमा भइरहेको ब्रिक्स सम्मेलनमा आइतबार सदस्य राष्ट्रहरूले एकसाथ वक्तव्य जारी गर्दै ‘एकपक्षीय भन्सार र गैर–भन्सार उपायहरूको वृद्धि’ प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस