काठमाडौं, २४ असार । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३ः३० बजेसम्म ७ जनाको शव फेला परेको र रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको गरिएको जनाएको छ ।
उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।
बाढीपछि १८ जना अझै बेपत्ता छन्, जसमा ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेका छन् ।
बाढीले (गोसाइँकुण्ड गाउँपालिका–१, २ र ३), (आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५), (उत्तरगया गाउँपालिका २, ४ र ५) तथ कालिका गाउँपालिका १ का बासिन्दा बाढीबाट बढी प्रभावित भएको प्रहरीले जनाएको । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । आठ वटा इभी बगाएको छ। साथै इभी भन्सार कार्यालय र रसूवाको यार्ड तथा रसुवागगढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ । बाढीको कारण सडक चर्किँदा धुन्चेदेखि टिमुरेसम्म जाने सडक अवरुद्ध भएको छ ।
घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीय सरकार संयुक्त रूपमा उद्धार र राहत कार्यमा खटिएका छन् ।
