काठमाडौं, २५ असार । अब स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले २ लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म १ लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन् ।
आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले ८ प्रकारका गम्भीर रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न बताए ।
‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मन्त्री पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले २ लाखसम्मको उपचार सुविधा पाउने छन् ।