काठमाडौं, २५ असार । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले यही असार २३ गते दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो । चैत १५ गते तत्कालिन उपकुलपति प्रा. डा केशरजङ्ग बरालले राजिनामा दिएका थिए । २८ चैतमा बरालले दिएको राजीनामा स्वीकृतपछि चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।