काठमाडौं, २५ असार । पछिल्ला वर्षमा वैदेशिक अध्ययनका नाममा बाहिरिने रकम बढीरहेको छ । पछिल्लो पाँच वर्ष यता उच्च शिक्षा अध्ययनका लागि विदेशी मुलुक जाने नेपाली विद्यार्थीमार्फत बाहिरिएको रकम साढे चार गुणाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको जेठसम्मको वित्तीय तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा वैदेशिक अध्ययनका लागि १ खर्ब २४ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ, जुन आव पाँच वर्ष अघिको तुलनामा ४३५ दशमलव ३९ प्रतिशतले बढी हो । आव २०७७/७८ को जेठसम्ममा वैदेशिक अध्ययनमा जाने विद्यार्थीमार्फत २३ अर्ब ३१ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।
नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढेसँगै त्यसमार्फत बाहिरिने रकम पनि वर्षेनी उच्च दरमा वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ ।
यस्तो छ पाँच वर्षमा बाहिरिएको रकम :

स्रोत : नेपाल राष्ट्र बैंक
गत आवको जेठको तुलनामा यस वर्ष उच्च शिक्षा अध्यनका लागि बाहिरिएको रकम ६ दशमलव ६५ प्रतिशतले बढको छ । आव आवको ११ महिनामा शिक्षातर्फको भ्रमण व्यय १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ थियो ।
चालू आवको जेठमा मात्रै वैदेशिक अध्ययनका लागि मुलुकबाट १२ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ ।
कुन महिनामा कति रकम बाहिरियो ?

स्रोत : नेपाल राष्ट्र बैंक
यसैगरी चालू आवको जेठसम्म शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै २ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १६ दशमलव ५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा यस्तो खर्च १ खर्ब ७५ अर्ब १६ करोड रहेको थियो ।
विदेश अध्ययनसँगै अन्य पर्यटन खर्चसमेत बढेकाले देशको सेवा खाता थप घाटामा गएको छ । चालू आवको वैशाखसम्ममा सेवा खाता ९७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ८.६ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय रु.७६ अर्ब ८८ करोड रहेको थियो ।