काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज मुलुकभर र विदेशमा रहेका नेपाली समुदायले विविध कार्यक्रम गरी मनाइँदैछ ।
भानुभक्तले संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनीलाई नेपाली भाषामा भावानुवाद गरेर प्रस्तुत गरेको ‘रामायण’ आज पनि नेपाली घरघरमा श्रद्धापूर्वक पाठ गरिन्छ । नेपाली भाषामा साहित्यिक युगको सूत्रपात गर्ने कविका रूपमा चिनिने भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिको माध्यमबाट राष्ट्रिय एकता अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेलेका थिए ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति उनले लेखेका छन् ।