काठमाडौं, २९ असार । साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले आज घरेलु टिम बंगलादेशसँग खेल्दै छ । नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार पौने ७ बजे बसुन्धरा किंग्स एरिनामा सुरु हुनेछ ।
साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो । २०२३ को साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँगै ३–० ले पराजित भएको थियो ।
प्रतियोगितामा अर्काे बलियो टोली भारत सहभागी छैन । भारत नभएपछि प्रतियोगिताको उपाधि दाबेदारमा नेपाल र बंगलादेशलाई नै लिइएको छ । पछिल्लो समय बंगलादेशले सिनियरदेखि उमेर समूहमा उल्लेख्य प्रगति गर्दै आएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो । त्यस्तै बंगलादेशले पनि श्रीलंकामाथि ९–१ को फराकिलो जित निकालेको थियो ।
नेपाली महिला यु–२० मा बिर्सना चौधरी कप्तान रहेकी छन् । खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन् ।
बङ्गलादेशको ढाकामा जुलाई ११ सुरु भएको साफ यु–२० महिला च्याम्पियनसि जुलाई २१ सम्म चल्नेछ । च्याम्पियनसिपमा बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन् ।
यो प्रतियोगिता डबल लिगको हुनेछ । शीर्ष स्थानमा रहने टोली सीधै च्याम्पियन हुनेछ ।