काठमाडौं, २९ असार । नेपाल क्रिकेट संघ (क्यान) ले टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ ।
आज क्यानले गरेको घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन् उनी करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको सुचीमा परेका हुन् ।
आदिल क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए, तर अदालतले अदिलासहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दावी नपुग्ने भन्दै सफाइ दिएको थियो ।
त्यस्तै, यु १९ का स्टार युवराज खत्रीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरालाई पनि क्लोज क्याम्पमा राखिएको छ ।
नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ । त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ ।
छनोटमा ९ राष्ट्रको सहभागीता रहने छ । सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन् ।
सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रारम्भिक नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकर, अर्जुन घर्ती
