काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानहरू संकटमा परेको भन्दै सरकारको आलोचना गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले समयमै मलखाद नपुगेको, अनुदान कटौती गरिएको, विद्युत् र सिँचाइ अभावका कारण किसानको जीवन कष्टकर बन्दै गएको भन्दै सरकारले जनताको समस्यालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका हुन् ।
‘मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट सुनिश्चित गरेको थियो,’ भने, ‘तर असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन, वितरणको त परकै कुरा हो ।’
हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘आयात भएको भनिएको मल कहाँ गयो ?’
मल वितरणमा पहुँच र सिफारिसको चलन हटाउन, सबै किसानलाई समानरूपमा मल सुनिश्चित गर्न उनले आग्रह गरे ।