काठमाडौं, ३० असार । असार सकिन तीन दिन मात्रै बाँकी रहँदा देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ ।
कृषि विभागको तथयाङ्क अनुसार यही असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । अझै ५ लाख ६७ हजार ३२७ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ । हाल देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।
गत वर्षको तुलनामा यस वष धान रोपाइँ झण्डै ८ प्रतिशतले घटेको छ । गत वर्ष यस अवधिमा ६७.७ प्रतिशतमा धान रोपाइँ भएको थियो ।
विभागका अनुसार असार २९ गतेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९३.१ प्रतिशत धान रोपाइँ भएको छ, जुन गत आवको तुलनामा ७ दशमलव १ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा सुदुरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुनेमा आइतबारसम्म १ लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
त्यस्तै कर्णाली प्रदेशमा ८३ दशमलव २३ प्रतिशत अर्थात् ३४ हजार २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ । बाँकी ६ हजार ८२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिने क्रममा छ ।
लुम्बिनी प्रदेशमा २ लाख २३ हजार हेक्टर क्षेत्रफल अर्थात् ७३ दशमलव ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस प्रदेशमा गत वर्षको यसै अवधिमा ६६ दशमलव ७ प्रतिशत धान रोपाइँ भएको थियो । लुम्बिनीमा ३ लाख २ हजार ९३९ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्छ ।
यो वर्ष सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाइँ सम्पन्न भएको छ । आइतबारसम्म मधेशमा ३३ दशमलव ७८ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । पानी नपर्दा मधेशमा धान रोपाइँ हुन सकेको छैन ।
३ लाख ७२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने यस प्रदेशमा १ लाख २५ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । आउँदो साउनको अन्तिमसम्म देशभर ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
यस्तो छ अन्य प्रदेशमा धान रोपाइँको अवस्था :

स्रोतः कृषि विभाग