युक्रेनलाई हतियार पठाउने ट्रम्पको तयारी, पुटिनसँग असन्तुष्ट

अनलाइनसमय |
३० असार २०८२
युक्रेनलाई हतियार पठाउने ट्रम्पको तयारी, पुटिनसँग असन्तुष्ट

काठमाडौं, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनलाई आक्रामक हतियार पठाउने तयारीमा  छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न नमानेपछि ट्रम्पले यस्तो कदम चाल्न लागेका हुन् ।

ट्रम्पले आइतबार युक्रेनलाई ‘प्याट्रियट मिसाइल’ दिने घोषणा गरेको द टेलिग्राफले जनाएको छ । यो रूसको ड्रोन र मिसाइल आक्रमणविरुद्ध प्रयोग हुने सुरक्षात्मक हतियार हो । तर अब पठाइने हतियारमा लामो दूरीका आक्रमण प्रणालीहरू पनि समावेश हुने एक्सियोसले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यी आक्रामक प्रणालीहरू युक्रेनबाट सिधै रुसको भित्री भूभागमा हमला गर्न प्रयोग गर्न सकिने बताइएको छ ।

ट्रम्पले हालै पुटिनसँग गरेको टेलिफोन संवादपछि यस्तो निर्णयमा पुगेको विश्वास गरिएको छ । सो संवादमा पुटिनले युक्रेनविरुद्ध नयाँ आक्रमण सुरु गर्ने चेतावनी दिएका थिए । त्यसपछि ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई भनेका थिए, ‘ऊ (पुटिन)लाई युक्रेन पूरै चाहिएको छ ।’

ट्रम्पले पछिल्ला केही हप्तादेखि पुटिनको आलोचना गर्दै आएका छन् । उनले पुटिनलाई ‘पागल’ र ‘झूटको व्यापार गर्ने’ व्यक्ति भनेका छन् । ‘पुटिन दिनभर मीठो कुरा गर्छ, तर साँझमा सबैलाई बमले उडाउँछ,’ आइतबार ट्रम्पले भनेका थिए ।

ट्रम्प निकट रिपब्लिकन सांसद लिन्डसे ग्राहामले पनि ट्रम्प पुटिनसँग निकै रिसाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस