काठमाडौं, ३२ असार । हिमालयन बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक शेयर (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
बैंकले संस्थापक र सर्वसाधारण शयरधनीको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत शेयर जारी गर्नैपर्ने व्यवस्था छ ।
हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ, जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।
बैंकको सो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।