काठमाडौं, १ साउन । सौर पात्रोअनुसार सूर्य आज मिथुनबाट कर्कट राशिमा प्रवेश गरेसँगै साउने सङ्क्रान्तिको अवसरमा देशभर विशेष धार्मिक र परम्परागत विधिपूर्वक यो पर्व मनाइँदैछ । यही दिनबाट सूर्यको दक्षिणायन सुरु हुने मानिन्छ, जसका कारण यस पर्वलाई हिन्दू संस्कृतिमा विशेष महत्व दिइन्छ ।
साउन १ गते धार्मिक मात्र होइन, सामाजिक र स्वास्थ्यीय दृष्टिले पनि विशिष्ट छ । धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार असार महिनाभर खेतबारीमा काम गर्दा शरीरमा देखिन सक्ने छालाका रोगहरू हटाउन जडीबुटी मिसिएको पानीले स्नान गर्ने तथा ‘लुतो फाल्ने’ परम्परा पुरानो समयदेखि चलिआएको छ ।
यस अवसरमा परम्पराअनुसार ‘कण्डारक’ नामक दानवको प्रतीकात्मक पूजा गरी अगुल्टो फाल्ने र नकारात्मकता हटाउने विश्वास गरिन्छ । यसक्रममा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता वनस्पति औषधीय रूपमा प्रयोग गरिन्छ । लुतो फाल्दा नाङ्लो ठटाउने, ढोका बन्द गर्ने, शङ्ख फुक्ने तथा घण्टा बजाउने परम्परा समेत छ ।
साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यस महिनाभर विशेषगरी महिलाहरूले हरियो चुरा, हरियो कपडा तथा रातो पहिरन लगाएर पूजाआजा गर्छन् । बजारमा हरियो चुरा र कपडाको माग उच्च हुने यो समय महिलाहरूको धार्मिक आस्था र परम्परागत सौन्दर्यप्रति झुकाव झल्किन्छ ।