काठमाडौं, २ साउन । फेसबुक (हाल मेटा)मा भएका बारम्बारका गोपनीयता उल्लंघनसम्बन्धी आरोपमा दायर गरिएको ८ अर्ब अमेरिकी डलर बराबरको मुद्दा संस्थापक मार्क जुकरबर्गसहितका उच्च अधिकारीले शेयरधनीहरूसँग मिलापत्र गर्दै टुंग्याएका छन् । शेयरधनीहरूका कानुनी प्रतिनिधिले डेलावेयर अदालतमा बिहीबार सम्झौताको घोषणा गरेका हुन् ।
मार्क जुकरबर्गको नेतृत्वमा कम्पनीका निर्देशक तथा उच्च अधिकारीको लापरवाहीका कारण फेसबुकमा भएका व्यक्तिगत डाटा लिक भएर क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्श कम्पनीको हातमा पुगेको उनीहरूको आरोप थियो ।
सन् २०१८ मा यो विषय सार्वजनिक भएपछि मेटाका शेयरधनीहरूले मुद्दा दायर गरेका थिए । उनीहरूले कम्पनीलाई लागेका जरिवाना, कानुनी खर्च र बदनामीको क्षतिपूर्ति स्वरूप मेटालाई ८ अर्ब डलर फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
त्यसबेला क्याम्ब्रिज एनालिटिकाले लाखौँ प्रयोगकर्ताको जानकारी राजनीतिक विज्ञापनमा प्रयोग गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचारमा साथ दिएको खुलासा भएको थियो ।
मुद्दामा ११ जना प्रतिवादी थिए । तीमध्ये एक हुन् जेफ्री जाइण्ट्स । उनी मे २०१८ देखि मेटाका निर्देशक थिए । पछिल्लो समय अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनका स्टाफ प्रमुख समेत बनेका थिए ।