काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकको अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)ले लाभांश वितरण गर्दा केही शर्तहरू पालना गर्नुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ले नयाँ मापदण्ड ल्याएको हो ।
मार्गदर्शन अनुसार संस्थाले लाभांश वितरण गर्नु पूर्व वितरित मुनाफा ऋणात्मक रहेको हुनुपर्दछ । संस्थाको मुनाफामा भएको एक वर्षको वित्तीय विवरणका आधारमा मात्रै लाभांश घोषणा गर्नुपर्ने छ । शेयर प्रिमियम एवं ‘बार्गेन पर्चेज गेन’बाट नगद मात्र नगद लाभांश घोषणा गर्न पाइन्दैन र शेयर लाभांश वितरण गर्दा संस्थाको नेथवर्क ऋणात्मक नरहेको हुनुपर्ने छ ।
यस्तै नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्ने छ । राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको हुनुपर्ने छ ।
लाभांश वितरणको प्रस्ताव
लाभांश वितरणको प्रस्ताव गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्नेछ । प्रस्तावसँगै अघिल्लो आवको कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षित वित्तीय विवरण, भाखा नाघेका कर्जा नभएको, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको लगायतका प्रमाणपत्र अनिवार्य हुनुपर्ने छ । कानुनी र नियामकीय मापदण्डहरू पालना भए/नभएको स्वःघोषणा गर्नुपर्ने छ ।
कोष व्यवस्थापनमा निर्देशन
राष्ट्र बैंकको मार्गदर्शन अनुसार संस्थाले जोखिम बहन कोष, जगेडा कोष स्थापना अनिवार्य गरिएको छ । संस्थाले नाफाको निश्चित प्रतिशत रकम यस्ता कोषमा छुट्याउनु पर्नेछ । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिनेछ । साथै यस्ता कोषहरुबाट भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनु पर्नेछ ।
यस्तै भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्ने छ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ ।