गाजामा सहायता लिन आएका नागरिकमाथि इजरायली गोलाबारी

अनलाइनसमय |
५ साउन २०८२
गाजामा सहायता लिन आएका नागरिकमाथि इजरायली गोलाबारी

काठमाडौं, ५ साउन । उत्तरी गाजामा राहत सहायता लिन जम्मा भएका नागरिकमाथि इजरायली सेनाले गोली चलाएको छ । सो क्षेत्रमा संयुक्त राष्ट्र संघको सहायता पर्खिरहेका प्यालेस्टिनीमाथि इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ६७ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको भनाइलाई उद्वत् गर्दै बीबीसीले लेखेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम अनुसार २५ वटा राहत बोकेका ट्रक गाजामा प्रवेश गरेलगत्तै भोकले पीडित प्यालेस्टिनी भिडमाथि गोली चलाइएको थियो ।

इजरायली डिफेन्स फोर्सले आफ्नो प्रतिक्रिया तत्कालको खतरा हटाउन चेतावनी स्वरूप गोली चलाएको बताएको छ भने मृत्युको संख्यामा शंका गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार अत्यधिक भोकमरीको अवस्था बढ्दै गएको उल्लेख गरेको थियो । ‘शरीर सुकेर हड्डी मात्र बाँकी भएका सयौं नागरिकहरू भोककै कारण चाँडै मृत्य भइरहेका छन्,’ मन्त्रालयले भनेको छ । आइतबार मात्रै भोकका कारण थप १८ जनाको मृत्यु भएको हो ।

शिफा अस्पतालमा पुगेका धेरै घाइतेहरू उपचाररत छन् । अस्पताल प्रमुख डा. हसन अल–शाएरका अनुसार अस्पताल पूर्ण रूपमा भरिएको छ । ‘पूरा जनसंख्या नै मर्दैछ,’ एक महिलाले अस्पताल बाहिर भनिन्, ‘बालबालिकाहरू भोकले मरिरहेका छन्, उनीहरूसँग खानको लागि केही छैन, मानिसहरू पानी र नुनमै बाँचिरहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस