इस्तानबुलमा युक्रेन–रुसबीच नयाँ शान्ति वार्ता हुने

अनलाइनसमय |
६ साउन २०८२
इस्तानबुलमा युक्रेन–रुसबीच नयाँ शान्ति वार्ता हुने

काठमाडौं, ६ साउन । युक्रेन र रुसबीच शान्ति स्थापनाका लागि नयाँ चरणको वार्ता बुधबार टर्कीको इस्तानबुलमा हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा वार्ताको जानकारी दिएका हुन् ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तेम उमेरोभसँग बन्दी साटासाट र रुससँगको बैठकबारे छलफल भएको बताए । ‘आज मैले युक्रेनी सुरक्षा परिषद् प्रमुखे रुस्टेम उमरोभसँग कैदी आदानप्रदानको तयारी र टर्कीमा रुसी पक्षसँग अर्को बैठकको बारेमा छलफल गरें,’ जेलेन्स्कीको भनाइलाई उद्वत् गर्दै बीबीसीले लेखेको छ ।

उक्त वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनभित्र युद्धविराम नभए ‘गम्भीर प्रतिबन्ध’को चेतावनी दिएको केही दिनपछि हुन लागेको हो । अमेरिका हालै युक्रेनी सेनालाई थप हतियार उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

यसैबीच युक्रेनमा रुसको आक्रमण तीव्र बनेको छ । पूर्वी शहर क्रामाटोस्र्कमा रुसको ‘ग्लाइड बम’ प्रहारमा एक बालकको मृत्यु भएको छ । राजधानी किभका कम्तीमा ६ स्थानमा ड्रोन र मिसाइल आक्रमण भएका छन् ।

पूर्वी युक्रेनको पक्रोभस्क क्षेत्रमा युक्रेनी सेनाले रुसी फौजका ५० भन्दा बढी आक्रमणहरूलाई पछाडि धकेलेको जनाएको छ । युक्रेनी सेनाका कमाण्डर ओलेक्सान्द्र सिस्र्कीका अनुसार रुसी तोडफोड समूहहरूले शहरभित्र पसेर आक्रमण गर्ने प्रयाससमेत गरेका छन् ।

शान्ति वार्तासम्बन्धी रुसले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर रुसी समाचार संस्था आरआईएले एक स्रोतलाई उद्धृत गर्दै दुईदिने वार्ता बिहीबार र शुक्रबार हुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस