थाइल्याण्ड–कम्बोडियाबीच सीमा विवाद चुलिँदै : हवाई आक्रमण सुरु

अनलाइनसमय |
८ साउन २०८२
थाइल्याण्ड–कम्बोडियाबीच सीमा विवाद चुलिँदै : हवाई आक्रमण सुरु

काठमाडौं, ८ साउन । दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरू थाईल्यान्ड र कम्बोडियाबीचको विवादित सीमामा तनाव गम्भीर बन्दै गएको छ । पछिल्लो झडपमा कम्बोडियाबाट प्रक्षेपित गोलाबारीका कारण कम्तीमा दुई जना थाई नागरिकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

थाई सेनाले बिहीबार कम्बोडियाका सैन्य लक्ष्यहरूमा एफ–१६ लडाकु विमान प्रयोग गरेर हवाई आक्रमण गरेको पुष्टि गरेको छ । सेनाले अरू लडाकु विमानहरू पनि तयारी अवस्थामा राखिएको जनाएको छ । सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननले पत्रकारहरूलाई भनेकी छन्, “हामीले पूर्व योजनाअनुसार सैन्य अड्डाहरूमा हवाई शक्ति प्रयोग गरेका छौं ।”

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटका पिता हुन सेनले थाई सेनाले कम्बोडियाका दुई प्रान्तहरूमा गोलाबारी गरेको बताएका छन् । प्रधानमन्त्री हुन मानेटले अनलाइन वक्तव्यमार्फत भनेका छन्, “कम्बोडिया सधैं शान्तिपूर्ण समाधानको पक्षमा उभिएको छ । तर, यसपटक हामीसँग सैन्य आक्रमणको जवाफ दिनेबाहेक विकल्प छैन ।”

बिहीबार बिहान विवादित सीमा क्षेत्रमा पर्ने ता मुएन थोम खमेर हिन्दू मन्दिर नजिकै दुई देशका सेनाबीच भीषण झडप भएको थियो । दुबै पक्षले पहिलो प्रहार एकअर्काले गरेको आरोप लगाएका छन् ।

कम्बोडियाली सैनिकले निगरानी ड्रोन पठाएर त्यसपछि भारी हतियारसहित (रकेट लन्चर) आक्रमण थालेको थाई सेनाले भनेको अनलाइन समाचार दि गार्डियनमा उल्लेख छ । कम्बोडियाले भने सो आरोप अस्वीकार गर्दै थाई सेनाले नै पहिले आक्रमण थालेको बताएको छ । अहिले थाई सेनाले सवै सीमा नाका बन्द गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस