रूसमा ४९ यात्रु बोकेको विमान सम्पर्कविहीन, खोजी जारी

अनलाइनसमय |
८ साउन २०८२
रूसमा ४९ यात्रु बोकेको विमान सम्पर्कविहीन, खोजी जारी

काठमाडौं, ८ साउन । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । अमूर क्षेत्र चीनसँग सिमाना जोडिएको पूर्वी भूभागमा पर्छ ।

साइबेरियामा आधारित ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन भएको सीएनएनले लेखेको छ ।

अमूरका गभर्नर भासिली ओरलोका अनुसार विमानमा ४३ जना यात्रु सवार रहेको र तीमध्ये पाँचजना बालबालिका रहेका छन् । त्यस्तै विमानमा ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।

“विमानको खोजीका लागि आवश्यक सबै स्रोत र जनशक्ति परिचालन गरिएको छ,” गभर्नर ओरलोभले आफ्नो टेलिग्राममा लेखेका छन् ।

यद्यपि, आपतकालीन सेवा मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको अनुमान गरेको छ । हालसम्म विमानको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको र खोज तथा उद्धार टोली घटनास्थलतर्फ पठाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस