धितोपत्र लगानीमा परिसूचक मात्र हेर्ने कि कम्पनीको अवस्था पनि हेर्ने ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
९ साउन २०८२
काठमाडौं, ९ साउन । चालू आर्थिक वर्षको मौद्रिक नीति आएपछि नेपालको धितोपत्र बजारमा उत्साह देखिएको छ । साउन १ गतेदेखि मौद्रिक नीति कार्यान्वयनमा आएसँगै त्यसयता शेयर बजार बढीरहेको छ । विगत ८ कारोबार दिनदेखि शेयर बजार लगातार बढेको छ । हिजो (साउन ८ गते बिहीबार) नेप्से परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर २ हजार ९८२ को बिन्दुमा कायम भएको छ । साथै करोबार रकम पनि उच्च छ । जबकी आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन परिसूचक २ हजार ७ सय ९४ को बिन्दुमा सीमित थियो ।
बजारको सकारात्मक लयलाई बजार मापक नेप्से परिसूचक र कारोबार दुवैले साथ दिएका छन् । धितोपत्र बजारमा धेरैको चासो भने बजार घट्यो कि बढ्यो अर्थात् नेप्से परिसूचकबारे नै हुने गर्छ । एउटै सूचकले समग्र बजार अवस्थाको संकेत गर्ने भएकाले यसबारे आम चासो र चर्चा हुनु स्वाभाविक हो । तर तपाईंलाई थाहा छ, के हो नेप्से परिसूचक ? र धितोपत्र बजार तथा अर्थतन्त्रमा यसले के महत्व राख्छ ? यसैगरी सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्सबारे पनि सुन्नुभएकै होला । आउनुहोस्, धितोपत्रका यी परिसूचकलाई संक्षेपमा बुझौं ।
नेप्से परिसूचक
समग्रमा बजार घटेको, बढेको, कतातिर गइरहेको छ भन्ने संकेत नेप्से परिसूचकले गर्छ । सामान्यतया बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयरमूल्य घट्दा परिसूचक घट्छ, बढ्दा बढ्छ । नेपाल स्टक एक्सचेन्जले यो परिसूचक २०५० सालदेखि सञ्चालनमा ल्याएको हो । विकसित बजारमा धितोपत्र परिसूचक अर्थतन्त्रकै प्रतिबिम्बको रूपमा रहेको छ । तर नेपालमा भने यो अर्थतन्त्रको सूचक बन्न सकेको छैन ।
सेन्सेटिभ इन्डेक्स
बजारमा वित्तीय हिसाबले बलियो, पारदर्शी, संस्थागत सुशासन भएका कम्पनीको मात्र धितोपत्रको अवस्था जनाउने परिसूचक सेन्सेटिभ इन्डेक्स हो । यसमा समेटिने कम्पनीका लागि चुक्तापुँजी कम्तिमा २ करोड, सेयरधनी कम्तीमा एक हजार, तीन वर्षदेखि लगातार नाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको जस्ता मापदण्ड तोकिएका छन् । २०६३ सालदेखि यो इन्डेक्सको गणना गर्न थालिएको हो ।
फ्लोट इन्डेक्स
बजारमा तत्काल किनबेच गर्न सकिने धितोपत्र मात्र अवस्था बुझाउने परिसूचकलाई फ्लोट इन्डेक्स भनिन्छ । सर्वसाधारणमा जारी कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर यो इन्डेक्सको गणना गरिन्छ ।
नेप्सेले २०६५ सालदेखि यसलाई प्रचलनमा ल्याएको हो । यस्तै सेन्सेटिभ इन्डेक्सको डालोमा भएका कम्पनीले सर्वसाधारणमा जारी गरेका कारोबारयोग्य धितोपत्रको अवस्था बुझाउने परिसूचकलाई सेन्सेटिभ फ्लोट इन्डेक्स भनिन्छ । तर नेपालमा नेप्से परिसूचकको तुलनामा अन्य परिसूचक लोकप्रिय र प्रभावकारी हुन सकेका छैनन् ।
नेप्सेसहितका विभिन्न परिसूचकले लगानीकर्ताको लगानी मनोविज्ञानमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्छ । लगानी निर्णयका लागि लगानीकर्ताले सबै परिसूचक हेर्नु र बुझ्नु सहयोगी हुन सक्छ ।
धितोपत्र बजारमा प्रायः परिसूचक घट्दा बजारबाट बाहिरिने र बढ्न थालेमा प्रवेश गर्ने वा लगानी बढाउने गरिएको पाइन्छ । तर लगानीकर्ताले परिसूचकलाई मात्र नभई सम्बन्धित कम्पनीको आधारभूत पक्षहरूको पनि राम्ररी अध्ययन, विश्लेषण गर्नुपर्नेमा जोड दिइएको छ ।
गत आर्थिक वर्षमा नेप्से परिसूचक करीब २५ प्रतिशतले बढेको छ । गतवर्षको असार अन्त्यमा २२४० रहेको नेप्से परिसूचक यस वर्षको सोही अवधिमा २७९४ विन्दुमा पुगेको हो । यसैगरी सेन्सेटिभ इन्डेक्स २९७ बाट बढेर ४८९ विन्दुमा पुग्दा फ्लोट इन्डेक्स भने १५२ विन्दुबाट १९३ विन्दुमा पुगेको छ ।
हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :