काठमाडौं, ९ साउन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जानकारी दिएको हो ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
निर्माण र आपूर्तिको ठेक्का लिएर काम नगरेपछि सम्बन्धित ठेक्का लगाउने निकायले कालोसूचीमा राख्न सिफारिस गर्न सक्छ । त्यसपछि सार्वजनिक खरिद अनुगन कार्यालयले त्यसरी सिफारिस भएका निर्माण कम्पनी र आपूर्तिकर्ताबारे थप बुझैर कालोसूचीमा राख्छ ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
