काठमाडौं, ९ साउन । इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा हिजो बिहीबार उनीहरु काठमाडौं आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएको छ ।
इजरायल र इरानबीच भएको युद्धविराम पश्चात् स्थिति क्रमशस् सहज हुँदै गएको छ ।
द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अप्रेशन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्नगएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी ९ जना नेपाली नागरिकहरुलाई यस अघि नै इरानबाट उद्धार गरी भारत हुँदै उनीहरु सबैजना स्थलमार्गबाट सकुशल आ–आफ्नो घर फिर्ता भइसकेका छन् ।
