नेपालको तेस्रो ठूलो व्यापार साझेदार बन्दै अर्जेन्टिना, व्यापार ७ गुणाले बढ्यो

अनलाइनसमय |
१० साउन २०८२
नेपालको तेस्रो ठूलो व्यापार साझेदार बन्दै अर्जेन्टिना, व्यापार ७ गुणाले बढ्यो

काठमाडौं, १० साउन । नेपालका प्रमुख व्यापारिक मुलुक भारत र चीन हुन् । दशकौंदेखि यी दुई मुलुक नेपालका प्रमुख दुई व्यापार साझेदारका रूपमा रहँदै आएका छन् । तर, नेपालको वेदेशिक व्यापार साझेदार तेस्रो ठूलो मुलुकबारे भने खासै धेरै चर्चा हुँदैन । भारत र चीनपछिको ठूलो व्यापार साझेदार मुलुक प्रायः परिवर्तन भइरहने हुँदा धेरै चर्चा नभएको पनि हुन सक्छ । यद्यपि कुनै पनि मुलुकका लागि प्रमुख व्यापार साझेदार मुलुकहरू र तिनसँग हुने व्यापारले ठूलो अर्थ राख्छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालले १६४ मुलुकसँग व्यापार भएको छ । नेपालको वैदेशिक व्यापारमा छिमेकी मुलुक भारत र चीनको अग्रता रहे पनि तेस्रो साझेदारको रूपमा अर्जेन्टिना अघि बढेको छ ।

विभागको तथ्याङ्क अनुसार गत आवमा आयात र निर्यात दुवै व्यापारको शीर्ष स्थानमा भारत छ । सो अवधिमा समग्र व्यापारको दोस्रो स्थानमा रहेको चीन आयातमा पनि दोस्रो स्थानमै छ । तर, निर्यातमा भने छैटौं स्थानमा छ ।

नेपालमा आयात हुने मुलुकमध्ये अर्जेन्टिना तेस्रो स्थानमा छ भने निर्यातमा ९३औं स्थानमा छ । निर्यात थोरै भएता पनि यो वर्ष अर्जेन्टिनाबाट हुने आयात बढेकोले समग्र व्यापारमा तेस्रो स्थानमा आएको देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार गत आवमा अजेन्टिनासँग नेपालले ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ, जसमध्ये ९९ अर्ब ३० करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने ३३ लाख मुल्य बराबरको वस्तु मात्रै निर्यात गरेको छ, अर्थात् अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ९९ अर्ब २९ करोड रुपैयाँ छ ।

अघिल्लो वर्षको तुलनामा गत आवमा अर्जेन्टिनासँगको व्यापार ७ गुणाले बढेको छ । आव २०८०/८१ मा अर्जेन्टिनासँग १२ अर्ब ३८ करोडको मात्र व्यापार भएको थियो, जसमध्ये १२ अर्ब ३८ करोडको आयात गरेको थियो भने १८ लाखको निर्यात गरेको थियो ।

आव २०८०/८१ मा नेपालको तेस्रो व्यापार साझेदारमा अमेरिका थियो । २०७९/८० मा तेस्रो व्यापार साझेदारमा रहेको इन्डोनेसिया लाई पछि पार्दै अमेरिका अघि आएको थियो । गत आवमा अमेरिकालाई पनि पछि पार्दै अर्जेन्टिना नेपाल तेस्रो व्यापार साझेदारको रुपमा आएको हो ।

तेलको कच्चा पदार्थ आयात ७ गुणाले बढ्यो
अर्जेन्टिनाबाट नेपालले सबैभन्दा बढी तेलको लागि चाहिने कच्चा पदार्थ आयात गरिरहेको छ । गत आवमा ९७ अर्ब ८० करोड मूल्य बराबरको तेलको लागि आवश्यक कच्चा पदार्थ आयात गरेको छ, जसमध्ये ८८ अर्ब ९० करोड मूल्य बराबरको ५८ करोड ५० लाख लिटर भटमासको तेल र ८ अर्ब ८९ करोड मूल्य बराबरको ५ करोड ७२ लाख लिटर सूर्यमुखी तेलका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ ।

अर्जेन्टिनाबाट हुने उक्त वस्तुको आयात एक वर्ष अवधिमा ७ गुणाले बढेको छ । आव २०८०/८१ मा ११ अर्ब ७० करोड मूल्य बराबरको ८२ करोड १७ लाख लिटर मात्रै आयात गरिएको थियो ।

यसबाहेकका अन्य वस्तु अर्जेन्टिनाबाट मकै तथ यसको बिउ, सुकेको सिमी, सेतो मटर सिमी, उन, स्पार्कलिंग वाइन, आई मेकअप सामाग्रीहरू, स्प्यानर तथा रेन्च र फलाम वा स्टिलका स्प्रिङहरू आयात हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस