अख्तियारका प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

अनलाइनसमय |
११ साउन २०८२
अख्तियारका प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

आफूलाई सामाजिक अभियन्ता बताउने युवराज पौडेल (सफल)ले भ्रष्टाचारका विभिन्न मुद्दामा संलग्न रहेको आरोप लगाउँदै राईविरुद्ध आइतबार अख्तियारमै उजुरी दर्ता गरेका हुन् ।

सफलले वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा राईको संलग्नता रहेको दाबी गरेका छन । उजुरीमार्फत ती काण्डहरूमा प्रमुख आयुक्त राईमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही अघि बढाउन उनले आग्रह गरेका छन् ।

उनले उजुरीमा भनेका छन्, ‘मिति २०८१ मंसिर २० गतेका दिन मुद्धा नं. ०८०–CR– ०१४५ माथि अन्तिम सुनुवाई सम्पन्न गरी सार्वजनिक भएको पुर्ण पाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्धा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ । त्यस्तै पुर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुयाउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ ।’

त्यस्तै उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘तत्कालीन नेपाल वायुसेवा निगमको अध्यक्षको रुपमा बसेको बैठकबाट नै वाइडबडी खरिदको प्रक्रिया अगाडि बढेको प्रमाणहरुसमेत सार्वजनिक भई सकेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको हैसियतमा विमान किन्ने निर्णय गर्ने तर उनैलाई वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा प्रतिवादी नबनाउनु गम्भीर त्रुटी भएको विशेष अदालतको ठहर छ,’ उजुरीमा भनिएको छ ।

त्यस्तै राईले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३ करोड रुपैयाँ बापत लिएको सार्वजनिक भइसकेको भन्दै उनीमाथि कुनै मुद्धा दर्ता भई अनुसन्धान समेत नभएको उजुरीमा सफलले भनेका छन् । अदालतलेसमेत मुद्दा चल्न पर्ने भनी घुमाउरो हिसाबमा दोषी देखाएको भन्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न उजुरीमार्फत राईको ध्यानाकर्षण गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस