देशभर हालसम्म ७८.८४% रोपाइँ, अन्नको भण्डार तराईमा आधा मात्रै

अनलाइनसमय |
१२ साउन २०८२
देशभर हालसम्म ७८.८४% रोपाइँ, अन्नको भण्डार तराईमा आधा मात्रै

काठमाडौं, १२ साउन । हालसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार यही साउन ११ गतेसम्म १० लाख ८७ हजार १४८ हेक्टर जमिनमा रोपाइँ सकिएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १३ दशमलव ७६ प्रतिशत बिन्दुले कम हो । गत वर्षको साउन १३ गतेसम्म ९२ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको थियो ।

अझै २ लाख ९१ हजार ८१९ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ । हाल देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।
नेपालको अन्नको भण्डार मानिने मधेश प्रदेशमा हालसम्म धान रोपाइँ आधा मात्र भएको छ । मधेशमा हालसम्म जम्मा ५१.८२ प्रतिशत अर्थात १ लाख ९३ हजार ११६ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । यो प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । पानी नपर्दा मधेशमा धान रोपाइँ हुन सकेको छैन । सरकारले मधेश प्रदेशलाई तीन महिनाको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

गत वर्ष साउन १३ गतेसम्म मधेशमा ९२ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो ।

विभागका अनुसार आइतबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९८ दशमलव ९४ प्रतिशत धान रोपाइँ भएको छ । गत आवको यसै अवधिमा सुदुरपश्चिममा ९९ दशमलव ६ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुनेमा आइतबारसम्म १ लाख ७४ हजार २८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा २ लाख ७८ हजार ८२८ हेक्टर क्षेत्रफल अर्थात् ९२ दशमलव ०४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस प्रदेशमा गत वर्षको यसै अवधिमा ९१ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको थियो । लुम्बिनीमा ३ लाख २ हजार ९३९ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्छ ।

कर्णाली प्रदेशमा ९१ दशमलव ३८ प्रतिशत अर्थात् ३७ हजार ५०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ । बाँकी ३ हजार ५३७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिने क्रममा छ ।

हालसम्म बागमती प्रदेशमा ८७.१९ प्रतिशत, गण्डकी प्रदेशमा ८४.५३ प्रतिशत र कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस