काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । सोमबार परिसूचक २ दशमलव ०७ प्रतिशतले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ९ सय ६२ दशमलव १३ को बिन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन आइतबार परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ को बिन्दुमा कायम थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडमा खुम्चिएको छ । यस दिन ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर १ लाख ७० हजार ७२६ पटक किनबेच भएको छ ।
सोमबार ३३२१ धितोपत्र कारोबारमा आए, जसमध्ये १५६ धितोपत्रको मूल्य घटेको भने ९४ धितोपत्रको मूल्य बढेको छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ४ समुहको उपसूचक बढ्दा बाँकी सबैको घटेको छ । यस दिन बैंकिङ समूहको उपसूचक ०.८९ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जिवन बीमा समूहको उपसूचक ०.७२, जीवन बीमाको ०.६६, हाइड्रोपावरको ०.५०, माइक्रोफाइनान्सको ०.३३, होटल एन्ड टुरिजमको ०.२८, म्युचुअल फन्डको ०.२३, लगानी समूहको ०.१० र अन्य समूहको उपसूचक ०.७६ प्रतिशतले घटेको छ ।
समग्रमा परिसूचकमा ह्रास आएता पनि व्यापार र विकास बैंक समूहमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । आज व्यापार समूहको उपसूचक ३ दशमलव २४ प्रतिशले बढेको छ । त्यस्तै विकास बैंकको ३.०४, फाइनान्सको २.७५ र उत्पादनमुलक समूहको उपसूचक १.७१ प्रतिशतले बढेको छ ।
आइतबार समता घरेलु लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तयस्तै सान्भी इनर्जीको ९.९२, ट्रेड टावरको ९.५३, हिमालयन डिस्टिलरीको ५.८०, सांग्रिला डेभलपमेन्ट बैंकको ५.७३ र नारायणी डिभलपमेन्ट बैंकको ५.६३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज विन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै लक्ष्मी उन्नती कोषको ७.५२, ग्रिन भेन्चर्सको ५.०८ र उन्नति सहकार्य लघुवित्तको ४.४१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर क्रमशः अगाडि छन् ।