काठमाडौं, १३ साउन । ज्योति विकास बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवद्र्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै इन्टरबैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।
यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरुले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन् । ज्योति विकास बैंकको शाखाहरुमा रहेको तोकिएको क्यूआरलाई सक्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरुलाई थप सहजता हुने विश्वास बैंकको छ ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ्ग सुविधा सक्रिय रहेको हुनुपर्छ । ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन । यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्छ । एटीएम अथवा आफ्नो सम्बन्धित बैंकको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैंकमा खाता नभएता पनि यो सुविधा उपलब्ध हुने छ ।
ज्योति विकास बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङ्गको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यपूर्ति स्वरुप यो सेवा पनि थप गरेको हो । भविष्यमा अझ प्रभावकारी र नविनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ ।
बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) द्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि एक प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो । इन्टरसर्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित वित्तीय पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ ।
यसै गरी, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवद्र्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ । ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्रल सेवा, चेकबिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एन्ड विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधालगायत थुप्रै आधुनिक बैंकिङ सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ ।