काठमाडौं, १३ साउन । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।
खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् । मन्त्री खड्काले पनि राजीनामा दिएपछि मुख्यमन्त्री तामाङ झनै संकटमा परेका छन् ।
बागमती कांग्रेस संसदीय दलका नेता तामाङविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । अब लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । केही दिनअघि ईन्द्र बानियाँ समर्थक २१ सांसदहरुले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यसअघि साउन ९ गते प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । मन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए ।
कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ, तर २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेर दर्ता गरेपछि मुख्यमन्त्री लामाको संकट बढेको छ ।
