राष्ट्र बैंकले २ अर्ब ९२ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

अनलाइनसमय |
१३ साउन २०८२
राष्ट्र बैंकले २ अर्ब ९२ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लागिएको जनाएको हो ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३ सय ६६ दिनको मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो । उक्त रकम अगष्ट ११ २०२५ देखि अगष्ट ११ २०२६ सम्मका लागि लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा २ अर्ब ३४ करोड ४ लाख रुपैयाँ, ख वर्गको राष्ट्रिय स्तरका विकास बैंकहरुमा ४३ करोड ८७ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १४ करोड ६२ लाख रुपैयाँ लगानी गर्न लागिएको जनाएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई साउन १५ गतेसम्म आवेदन राष्ट्र बैंकमा बुझाउन भनिएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ । त्यस्तै निक्षेप लिनका लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत, खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस