काठमाडौं, १३ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३० दशमलव ७६ अर्थात १ दशमलव ०३ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै परिसूचक ३ हजार २ दशमलव ०७ को बिन्दुमा बन्द भएको छ । यो करिब ४ वर्ष यताकै उच्च बिन्दु हो । यस अघि २०७८ भदौ १३ गते नेप्से ३ हजार १९८ बिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । त्यसपछि निरन्तर घटेको परिसूचक गत वर्षको साउन मसान्तमा ३ हजार बिन्दुमा पुगेको थियो । यो बिन्दु आज तोडिएको हो ।
आज परिसूचक बढेपनि कारोबार रकम झनै घटेको छ । आइतबार २६ अर्ब ५७ करोड र सोमबार १९ अर्ब ३६ करोड कारोबार भएकोमा आज १८ अर्ब ५२ करोड ९३ लाख मात्रै कारोबार भएको छ । यस दिन ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १ करोड ५७ लाख ५२५ पटक किनबेच भएको थियो ।
मंगलबार ३२१ धितोपत्र कारोबारमा आए, जसमध्ये १७६ धितोपत्रको मूल्य बढेको छ भने ७४ धितोपत्रको मूल्य घटेको छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ३ समूहको उपसूचक घट्दा बाँकी सबै समूहको बढेको छ । यस दिन अन्य समूहको उपसूचक २.५८ प्रतिशतले बढ्दा माइक्रोफाइनान्सको १.६९ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ समूहको उपसूचक १.३२, निर्जिवन बीमाको १.१२, जीवन बीमाको ०.९८, लगानी समूहको ०.९४, म्युचुअल फन्डको ०.८६, हाइड्रोपावरको ०.४४ र होटल एन्ड टुरिजम समूहको उपसूचक ०.३२प्रतिशतले बढेको छ ।
मंगलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जी लिमिटेड रहेका छन् । त्यस्तै, नाडेप लघुवित्तको ९.९९, नेपाल वेयरहाउजिङको ८.०६, मायाखोलाको ७.२१ र ग्रिन भेन्चर्सको ७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज समता घरेलु लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् क्रमशः अगाडि छन् ।