काठमाडौं, १४ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा सार्वजनिक ऋणको दायित्व २६ खर्ब ६९ अर्ब नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आवको शुरूमा तिर्न पर्ने बाँकी ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । आवको १२ महिनामै २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ ऋण थपिएर असार मसान्तसम्ममा २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
जसमध्ये आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड अर्थात् ४७ दशमलव ५१ तथा बाह्य ऋण १४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ अर्थात् ५२ दशमलव ४९ प्रतिशत रहेको छ । गत साउन १ गतेसम्म यस्तो ऋण क्रमशः ११ खर्ब ८० अर्ब ९० करोड र १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४३ दशमलव ७१ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण जीडीपीको २२ दशमलव १४ र बाह्य ऋण २४ दशमलव ५६ प्रतिशत छ ।