काठमाडौं, १४ साउन । रसियाको सुदूरपूर्वमा आज बिहान गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रशान्त क्षेत्रभर सुनामीको उच्च जोखिम उत्पन्न भएको छ । जस कारण अमेरिका, जापान र रसियामा लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको द टेलिग्राफले उल्लेख गरेको हो ।
रसियाको पूर्वी भागमा ८.८ रेक्टर स्केलको भूकम्प आज बिहान गएको हो । त्यसपछि आएको सुनामीले प्रशान्त महासागर दुबै छेउका तटवर्ती क्षेत्रमा ठुलो जोखिम सिर्जना गरेको अधिकारीहरूले जनाएका छन् ।
रसियाको केही टापुहरूमा सुनामीको ठूलो प्रभाव परिसकेको छ भने हवाई (अमेरिका)मा पनि लहरहरू पुग्न थालेका छन् । ‘भगवानको इच्छा भएमा, यी छालहरूले हामीलाई हानि पु¥याउने छैनन्,’ हवाईका गभर्नर जोश ग्रीनले भने ।
जापानले करिब १९ लाख नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । फुकुशिमा आणविक केन्द्रका कर्मचारीहरू समेतलाई स्थानान्तरण गरिएको छ ।
क्यालिफोर्नियाका अधिकारीहरूले जनतालाई समुद्री किनारबाट टाढा रहन आग्रह गरेका छन् ।
रसियाको कामचाट्का क्षेत्रमा ३–४ मिटर अग्ला लहरहरू पुगेको जनाइएको छ भने जापानको होक्काइडो सहरमा ३० सेन्टिमिटर जति अग्ला लहरहरू मापन गरिएको छ । विज्ञहरूले यी लहरहरू एक दिनभन्दा बढी समयसम्म रहन सक्ने चेतावनी दिएका छन् ।