काठमाडौं, १४ साउन । नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोकटी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका ३९ वर्षीय लाल बहादुर घिसिङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । साथै सुनका गरगहना खरिद गर्ने भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका–१४ बुईपा घर भएका ३९ वर्षीय भक्त बहादुर गदाल विकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भनि नक्क्ली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको प्रहरीले जनाएको छ ।
साथै उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रूपैयाँ लुटपाट गरेको समेत अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना. ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
नीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।