काठमाडौं, १५ साउन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो, तसर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।