काठमाडौं, १५ साउन । नेपालले अगामी वर्ष इङ्ग्ल्याण्डमा आयोजना हुने टि ट्वान्टी महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार विश्वकपको ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने बताएको हो ।
यो छनोट प्रतियोगितामा १० राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन्, जसबाट ४ टोलीहरूले मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् ।
बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण स्वतः छनोटमा परेका छन् ।
थाइल्याण्ड र नेपालले एशियाली क्षेत्रीय छनोटमार्फत प्रतियोगितामा स्थान बनाएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।
बाँकी पाँच स्थानहरू अफ्रिका र युरोपबाट दुई–दुई टोली र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक टोली छनोट भएपछि स्तान बनाउँनेछन् ।

नेपालमा हुने छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । र, सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउँने छ । प्रतियोगिताको खेल तालिका भने केही समयमै घोषणा गरिने आइसिसीले बताएको छ ।
यसैबीच, इङ्गल्याण्ड र वेल्समा हुने आईसीसी महिला टि ट्वान्टी विश्वकप २०२६ को तालिका पहिले नै जारी भइसकेको छ । विश्वकप १२ जुन देखि ५ जुलाई २०२६ सम्म चल्नेछ, जसमा २४ दिनमा ३३ खेलहरू ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्ड सहित सात स्थानहरूमा खेलिनेछन् ।