सर्वसुलभ बन्दै वित्तीय पहुँच, प्रयोग र गुणस्तर समेत बढ्दै (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१६ साउन २०८२
काठमाडौं, १६ साउन । पछिल्लो तीन वर्षमा नेपालमा वित्तीय पहुँच उल्लेख बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा वित्तीय समावेशीकरण सूचकांक १७.५ प्रतिशतले बढेको छ ।
यसअन्तर्गत पहुँच सूचक २३.६८, प्रयोग सूचक १४ र गुणस्तर सूचक १३.८८ प्रतिशतले वृद्धि भएको छ । बैंक शाखा तथा खाता विस्तार, वित्तीय साक्षरता र डिजिटल बैंकिङ सेवा वित्तीय समावेशीकरण बढ्नुका प्रमुख कारण रहेका छन् ।
केन्द्रीय बैंकले वित्तीय पहुँच, प्रयोग र गुणस्तरका आधारमा वित्तीय समावेशीकरण सूचकांक तयार पारेको हो, जसमध्ये वित्तीय प्रयोगलाई बढी अंकभार दिइएको छ । सबैमा वित्तीय पहुँच पुर्याउन राष्ट्र बैंकले नीतिगत पहल गर्दै आएको छ । सोअनुसार स्थानीय तहसम्म फैलिएको बैंक, वित्तको उपस्थितिले पनि वित्तीय पहुँच बढेको हो ।
वित्तीय साधनलाई पहुँचयोग्य र प्रतिस्पर्धी बनाउने विषयलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि समेटेको छ, जसअनुसार संस्थागत विविधता कायम गरी बैंक तथा वित्तीय संस्थालाई विशिष्टीकृत सेवा प्रदान गर्न प्रोत्साहनको आवश्यकतामा जोड दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाको विस्तारसँगै नागरिकमा सहज र उपयुक्त वित्तीय उपकरणको उपलब्धता मुलुकको आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुन्छ । किनकि यस्तो सेवाले उच्च सम्भावना भएका क्षेत्रको वृद्धि र विकासमा विशेष भूमिका खेल्न सक्छ ।
मुलुकको दूरदराजसम्म वित्तीय सेवालाई व्यापक एवं सर्वसुलभ बनाउनुका साथै डिजिटल वित्तीय सेवाको उपलब्धता, पहुँच र प्रयोगको गुणात्मक विकासमा विशिष्टीकृत बैंकिङ सेवाले ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
हाल नेपालमा चार प्रकारका बैंक तथा वित्तीय संस्था छन् । जसअनुसार वाणिज्य बैंक २०, विकास बैंक १७, वित्त कम्पनी १७ र लघुवित्त वित्तीय संस्था ५२ ओटा रहेका छन् । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षसम्ममा वित्तीय समावेशीकरण सूचक शून्य दशमलव ४७ रहेको छ, यसअन्तर्गत पहुँच सूचक ०.४७, प्रयोग सूचक ०.४९ र गुणस्तर सूचक ०.४१ रहेको छ ।
हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :