काठमाडौं, १६ साउन । आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो ।
सूचनामा दल दर्ता गर्दा नियमावलीबमोजिमको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता उल्लेख गर्नुपर्ने उल्लेख छ ।
यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, पछिल्लो पटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिसहितको विवरण पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । कार्यतालिका अनुसार आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
