काठमाडौं, १६ साउन । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप प्रदेश घोषणा गरिएको हो ।
सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे । साथै उनले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए । उनले नेपालमा मानिसका साथै पशुपंक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहून् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ ।’