काठमाडौं, १८ साउन । युक्रेनको दक्षिणी सहर मिकोलेभमा आइतबार बिहान रुसी मिसाइल आक्रमणमा सर्वसाधारणका घर तथा पूर्वाधार ध्वस्त भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार कम्तीमा तीन जना नागरिक घाइते भएका हुन् ।
काला समुद्र नजिकको यो सहरमा पछिल्ला दिनमा निरन्तर रुसी हमला भइरहेको बीबीसीले उल्लेख गरेको छ । युक्रेनको आपतकालीन सेवा विभागले घटनास्थलमा खटिएका दमकलकर्मीहरूका तस्बिर सार्वजनिक गरेको छ ।
उता सोही दिन बिहान रुसको काला समुद्र किनारमा रहेको पर्यटकीय सहर सोची नजिकैको तेल भण्डारण डिपोमा आगलागी भएको छ । रूसी अधिकारीहरूले घटनालाई युक्रेनी ड्रोन आक्रमणको परिणाम बताएका छन् ।
क्रास्नोडार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रातिएवले तेल ट्यांकीमा ड्रोनको टुक्रा खसेपछि आगो लागेको जानकारी दिएका छन् । घटनास्थलमा १२७ जना दमकलकर्मी खटिएका छन् । सोचीको एडलर विमानस्थलबाट सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ ।
युक्रेनले हालै रुसका दक्षिणी सहरहरू रियाजन, पेन्जा र भोरोनेजमा समेत ड्रोन आक्रमणहरू गरेको दाबी गरिएको छ । भोरोनेजमा भएको एक ड्रोन आक्रमणमा चार जना घाइते भएको स्थानीय गभर्नरले जनाएका छन् ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले रुसी आक्रमणको प्रतिक्रिया स्वरूप अन्तर्राष्ट्रिय समुदायसँग रुसमाथि थप कडा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
गत बिहीबार किभमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । सो आक्रमणमा ३०० भन्दा बढी ड्रोन र ८ वटा क्रुज मिसाइल प्रयोग गरिएको थियो ।a