काठमाडौं, १९ साउन । सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा हालसम्म ५७ दशमलव २७ प्रतिशत धान रोपाइँ सकिएको छ । अर्थात कुल खेतीयोग्य जमिनको २ लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।
पानी नपर्दा मधेशमा धान रोपाइँ हुन सकेको थिएन । खडेरीले आक्रान्त मधेशमा शनिबारदेखि वर्षा भएसँगै रोपाइँ सुरु भएको छ । सिँचाइ सुविधा नहुँदा आधा साउनसम्म खेत बाँझो थियो भने धान रोपेको खेत धाँजा फाँटेको थियो ।
गत वर्षको तुलनामा मधेशमा धान रापाइँ ३७ दशमलव ७२ प्रतिशतले कमी आएको छ । गत वर्ष साउन २० गतेसम्म मधेशमा ९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो ।
विभागको तथ्याङ्क अनुसार हालसम्म देशभर ८३ दशमलव ८८ प्रतिशत धान रोपाइँ भएको छ । यही साउन १८ गतेसम्म ११ लाख ५६ हजार ६८७ हेक्टर जमिनमा रोपाइँ सकिएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ५९ प्रतिशत बिन्दुले कम हो । गत वर्षको साउन २० गतेसम्म ९६ दशमलव ४७ प्रतिशत रोपाइँ सकिएको थियो ।
अझै २ लाख २२ हजार २७९ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ । हाल देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।
विभागका अनुसार आइतबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशतअर्थात १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत आवको यसै अवधिमा सुदुरपश्चिममा खेतियोग्य सबै जमिनमा धान रोपाइँ सकिसकेको थियो । यस प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा ९६ दशमलव ४७ प्रतिशत अर्थात ३९ हजार ५९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
लुम्बिनी प्रदेशमा २ लाख ९० हजार ७०८ हेक्टर क्षेत्रफल अर्थात् ९५ दशमलव ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस प्रदेशमा गत वर्षको यसै अवधिमा ९७ प्रतिशत धान रोपाइँ भएको थियो । लुम्बिनीमा ३ लाख २ हजार ९३९ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्छ ।
बागमती प्रदेशमा हालसम्म ९२.९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन २० गतेसम्म यस प्रदेशमा ९७ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा १ लाख १५ हजार ६२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म १ लाख ७हजार ४३४ हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ८८.९७ प्रतिशत धान रोपाइँ सकिएको छ भने कोशी प्रदेशमा ८९.०३ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।