काठमाडौं, २० साउन । सागर डिष्टिलरी लिमिटेडले यही साउन २८ गतेदेखि आईपीओ खुलाउने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्तासम्मका लागि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि भदौ ११ गतेसम्म लम्बिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानकिर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।