काठमाडौं, २० साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ ।
बाढी महाशाखाका अनुसार आज बिहान कर्णाली र महाकाली नदीहरुको बहाव सतर्कता आसपास रहेको छ । कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहने महाशाखाले पूर्वानुमान गरेको छ । उल्लिखित सात जिल्लालाई बाढी महाशाखाले रातो रङ अर्थात् रेड अलर्टमा राखेको छ ।
त्यस्तै आज संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, कपिलबस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालिकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै इलाम, झापा, ताप्लेजुङ, तेर्हथुम, पांचथर, खोटाङ, ओखलढुगां, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुं, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहको महाशाखाले बुलेटिन जारी गर्दे जानकारी दिएको छ । ३५ जिल्ला आज एल्लो अलर्टमा छन् ।
