काठमाडौं, २१ साउन । आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।
समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।
यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
३२ राष्ट्रको सहभागिता रहेको यस छनोट खेलमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।
केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू २० र एएफसी यू–२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए ।
साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० ले पराजित गरेको थियो ।