काठमाडौं, २२ साउन । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पूँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५० करोड पुगेको छ । सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । यो कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पुर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमा प्रमुख रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।
नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट संचालित कम्पनी हो । सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पुँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने ब्यबसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको छ ।
कम्पनीले विगत तीन बर्ष देखि लगातार खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंक वित्तीय संस्थामा निष्कृय कर्जाको समस्या चुनौतीको रुपमा रहेको विद्यमान अवस्थामा यसको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउन लागि परेका छन् । ऐनको मस्यौदा तयार भइसकेको भएता पनि पूँजी कति राख्ने भन्ने विषयमा द्विविधामा रहेको देखिन्छ ।
छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास अनुसार खर्बाैंको निष्कृय कर्जा व्यवस्थापन गर्न कर्जाको प्रकृति र साइज अनुसार साना ठूला कम्पनी आवश्यक पर्दछ । नेपालको “क”, “ख”, “ग”, “घ” वर्गको वित्तीय स्वरूप हेर्दा सम्पत्ति व्यवस्थापन कम्पनी पनि साना, मध्यम र ठूला पुँजी हुने सबै प्रकारका कम्पनी आवश्यक पर्ने देखिन्छ ।
नेक्सजेन म्यानेजमेन्टले यहि आवश्यकता महसुस गरेर पूर्व तयारीको लागि हाललाई एक अर्ब सम्म जाने गरी पूँजी वृद्धि गरेका हो । साथै भविष्यमा आवश्यकता अनुसार सर्वसाधारणलाई पनि कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।
कार्यक्षेत्र विस्तारको क्रममा भविष्यमा विभिन्न सहायक कम्पनीहरू स्थापना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनीलाई सशक्त र प्रभावकारी संस्था बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ ।